२५ साउन, काठमाडाैं। एक महिना अगाडि हनिमुनका लागि भन्दै भारतको सिम्ला पुगेका नायक श्रीकृष्ण श्रेष्ठ बिरामी भएको खबरले सिंगो सिने नगरी र दर्शकलाई छटपटी बनायो । नायक श्रेष्ठको उपचार दिल्लीमा भैरहेको भन्ने समाचार बाहिर आएपछि उनको स्वास्थ्य अवस्थाको बारेमा चासो राख्नेहरु धेरै थिए ।
चलचित्र ‘कोहिनुर’को प्रदर्शन छेकोमा नव–विवाहित जोडी भारत पुगेको थियो । भारत जाने क्रममा श्रीकृष्णले २ बर्षसम्म सन्तानको कुनै सोच नभएको सुनाएका थिए । तर भारत गए लगतै उपचारका क्रममा डीप निमोनिया भएको खबरले दर्शक र मिडिया अनि सिने नगरीलाई चिन्तित तुल्यायो । श्रीकृष्ण सिनेमाको पहिलो शोमा सहभागी हुने खबर आयो ।
सिनेमा चल्नु भन्दा एक दिन अगाडि मात्र श्रीकृष्णको निक्कै कारुणिक आवाज सहितको अडियो सार्वजनिक हुँदा उनको अवस्था केही गम्भिर बनेको धेरैले अड्कल काटेका थिए । तर, आज आइतबार बिहान एकाएक नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर आएपछि सबैलाई स्तब्ध बनायो ।
डीप निमोनिया भएका श्रीकृष्णको उपचारका क्रममा निधन भएको खबर बिहान साढे ५ बजे पाएपछि निर्देशक आकाश अधिकारी पनि निक्कै स्तब्ध भए । उनी बोल्न सक्ने अवस्थामा थिएनन् । उनले दैवको लिला भन्दै गएरातीश्रेष्ठको निधन भएको बताए ।
परिवारका सदस्यहरु आज दिल्ली जाने तयारीमा छन् । श्रीकृष्णको शवलाई आजै नेपाल ल्याइने समेत आकाशले बताए ।वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् ।
श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाई, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ ।
एक महिना अगाडि अर्थात असार २३ गते नायिका स्वेता खड्कास“ग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगे लगतै उनी बिरामी भएको खबर आएको थियो । सुख्खा खोकीले ग्रसित नायक श्रेष्ठलाई फोक्सोमा पानी जमेको बताइन्छ । उनको आत्माले शान्ती पाओस्, हार्दिक श्रद्धाञ्जली ।
Source : http://www.onlinekhabar.com/
No comments:
Post a Comment